एनपीएल : आज लुम्बिनी–सुदूरपश्चिम र जनकपुर–पोखराबीच रोमाञ्चक दुई खेल

hitkhabar.com


काठमाडौँ । राजधानी काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुनेछन्।

पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच बिहान ११:४५ बजे सुरु हुनेछ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा लुम्बिनी टोली आजको खेल जित्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। तीन खेलमध्ये एकमा मात्र जित हासिल गरेको लुम्बिनी हाल तालिकाको छैटौँ स्थानमा छ।

त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम लगातार तीन खेल जितेर शीर्ष स्थानमा छ। ६ अंकसहित लिगमा मजबुत रूपमा उभिएको सुदूरपश्चिम आज चौथो जितको खोजीमा हुनेछ।

दोस्रो खेल अपराह्न ४ बजे हुनेछ, जहाँ साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल कप्तानीको पोखरा दुवै टोली आज पहिलो जितका लागि पूर्ण प्रयास गर्नेछन्। दुवै टोली यसअघि भएका खेलहरूमा पराजित भएका थिए।

प्रतिक्रिया