काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण देशभर मौसममा बदलीको अवस्था कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रका केही स्थानहरू तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ। अन्य पहाडी तथा तराई क्षेत्रहरूमा भने आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
महाशाखाले सम्भावित वर्षा र चट्याङ्गबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।