संविधान दिवसमा रास्वपाको सन्देश : पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर समीक्षा गरौँ

hitkhabar.com


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान दिवसको अवसरमा देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई शुभकामना व्यक्त गर्दै संविधानको प्रभावकारी कार्यान्वयन र आवश्यक सुधारका विषयमा जोड दिएको छ।

रास्वपाका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।

सन्देशमा संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा नभई राज्य र नागरिकबीचको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरिएको छ। नेपालको संविधानले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको आधार तय गरे पनि ती उद्देश्य पूर्णरूपमा हासिल हुन अझै बाँकी रहेको रास्वपाको भनाइ छ।

मौलिक हक तथा संविधानका व्यवस्थाको वास्तविक अनुभूति सीमान्तकृत तथा पछाडि परेका नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा सन्देशमा जोड दिइएको छ। रास्वपाले सामाजिक लोकतन्त्रमार्फत सामाजिक न्याय र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

रास्वपाले संविधानलाई समयअनुसार परिमार्जन र संशोधन गर्न सकिने जीवन्त दस्तावेजका रूपमा उल्लेख गर्दै संविधानमा रहेको व्यवस्थाअनुसार यसको समीक्षा आवश्यक रहेको जनाएको छ। यस्तो समीक्षा गर्दा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने धारणा पनि सन्देशमा व्यक्त गरिएको छ।

त्यस्तै, लोकतन्त्र र समावेशितालाई थप सुदृढ बनाउने गरी संविधानका सबल पक्षलाई संरक्षण गर्दै कमजोरी तथा बेथितिमाथि विवेकपूर्ण बहस गर्न संविधान दिवस उपयुक्त अवसर भएको रास्वपाले जनाएको छ।

सन्देशमा बलियो राज्यका लागि बलिया संस्थाको आवश्यकता औँल्याउँदै राजनीतिक शक्ति, राज्यका विभिन्न अंग र नागरिकलाई व्यक्तिगत तथा संस्थागत स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा उद्देश्यमा एकताबद्ध हुन आह्वान गरिएको छ।

प्रतिक्रिया