साउन १३ मा गुरु पूर्णिमा महोत्सव, स्वास्थ्य शिविर र विविध कार्यक्रम हुँदै

hitkhabar.com


काठमाडौं। श्री परमेश्वरी सेवा केन्द्रले आगामी साउन १३ गते गुरु पूर्णिमा महोत्सवको अवसरमा स्वास्थ्य शिविर, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता लगायत विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रले नेपालमा ‘अघोर’ परम्पराप्रति समाजमा व्याप्त भ्रम हटाउन आवश्यक रहेको बताउँदै यसको वास्तविक स्वरूप सरलता, मानवता र आध्यात्मिकताको मार्ग भएको स्पष्ट पारेको छ।

केन्द्रका अध्यक्ष अघोर शिवराम बाबाले गुरु पूर्णिमाका अवसरमा चन्द्रागिरी नगरपालिका–८, ढाक्सीस्थित सुधर्मा आश्रम परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने जानकारी दिए। उनले सोही अवसरमा आश्रम परिसरमा निर्माणाधीन शिवशक्ति पीठ मन्दिरबारे पनि जानकारी गराएका छन्।

बाबाले अघोर परम्परालाई शिवको मार्गसँग जोड्दै पशुपतिनाथको दक्षिणमुख नै अघोर स्वरूप भएको उल्लेख गरे। उनले आर्य सनातन गुरु–शिष्य परम्परा मानव समाजका लागि अपरिहार्य रहेको भन्दै वर्तमान पुस्ताले त्यसको अनुशरण गर्नुपर्ने धारणा राखे।

उनले “राष्ट्र नै सबैभन्दा ठूलो धर्म हो” भन्दै प्रत्येक नागरिकले राष्ट्रप्रति आफ्नो दायित्व सम्झेर देश र समाजका लागि योगदान गर्नुपर्ने बताए।

अघोर परम्पराबारे नेपाली समाजमा गलत बुझाइ रहेको उल्लेख गर्दै बाबाले अघोरको अर्थ सरल, सहज, सौम्य र जटिलतामुक्त जीवनदर्शन भएको बताए। उनका अनुसार अघोरलाई तन्त्र–मन्त्र, जादुटुना, डरलाग्दो भेषभूषा वा अमानवीय व्यवहारसँग जोड्ने धारणा तथ्यहीन छ।

उनले अघोरको मूल उद्देश्य गुरुको मार्गदर्शनमा असल मानव बनेर राष्ट्र सेवा, मानवता र आत्मउत्थानको मार्गमा अघि बढ्नु रहेको स्पष्ट पारे।

कार्यक्रममा संस्थाका संरक्षक सदस्य नरबहादुर कार्कीसरोज रेग्मीले आयातित धर्म, संस्कार र संस्कृतिको अन्धानुकरणका कारण नेपाली मौलिक परम्परा र सांस्कृतिक पहिचान कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

त्यसैगरी संस्थाका सदस्य दीपेन्द्र न्यौपानेले साउन १३ गते चन्द्रागिरी–८, ढाक्सीस्थित सुधर्मा आश्रममा आयोजना हुने गुरु पूर्णिमा महोत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया