काठमाडौं । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू तथा तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसकै प्रभावका कारण आज पनि देशका विभिन्न क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। बाँकी भू–भागमा पनि आंशिक बदलीको अवस्था रहने जनाइएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै अन्य हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसमविद्ले बताएका छन्।