काठमाडौं । रसुवामा बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यसँगै पुनर्स्थापनाका लागि आर्थिक सहयोग जुट्न थालेको छ।
सरकारले राहत तथा पुनर्स्थापनाका लागि प्राप्त हुने सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने व्यवस्था गरेको छ। सोही क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषमा प्राप्त हुन थालेको सहयोग बुझ्न थाल्नुभएको छ।
यसैक्रममा कुमारी बैंक लिमिटेडले तीन करोड रुपैयाँ नगद सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।
सरकारले बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन विभिन्न स्रोतबाट प्राप्त सहयोगलाई एकीकृत रूपमा परिचालन गर्ने जनाएको छ।