काठमाडौं । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसको असरका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
त्यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली कायम रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै अन्य हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।