काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. पौडेल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागको प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ।
चिकित्सा क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका पौडेलले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पताललगायतका स्वास्थ्य संस्थामा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरिसक्नुभएको छ।
उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस (MS) गोल्ड मेडलसहित उत्तीर्ण गर्नुभएको हो। यसअघि उहाँले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गर्नुभएको थियो।
डा. पौडेल नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।
नवनियुक्त अध्यक्ष पौडेलको चिकित्सकीय अनुभव तथा काउन्सिलको कार्यसम्बन्धी पूर्वअनुभवले नेपाल मेडिकल काउन्सिलको आगामी कार्यसम्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।