अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

hitkhabar.com


काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिमार्फत आवश्यक सहजीकरण र लचकता अपनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभएको छ।

आज सिंहदरबारमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भएको करिब एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी सहकार्यबाट मात्रै अर्थतन्त्रप्रतिको आत्मविश्वास बढाउन सकिने बताउनुभएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले सेयर बजारका लगानीकर्ताको मनोबल बढाउन मौद्रिक नीतिका सीमाहरू खुकुलो पार्न, बैंकको ब्याजदर तथा कर्जा सर्तहरूलाई उद्यममैत्री बनाउन आग्रह गर्नुभयो। साथै, महिला तथा पिछडिएका क्षेत्रका उद्यमीलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिँदै उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन मौद्रिक उपकरण प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

जवाफमा गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिलाई थप व्यावसायिक र लचिलो बनाउँदै अर्थतन्त्रलाई गति दिने दिशामा नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी नीतिगत सहजीकरण गर्ने आश्वासन दिनुभएको थियो।


प्रतिक्रिया