काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
यस्तै, उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा आउने सम्भावित परिवर्तनका कारण नदी, खोला तथा पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।