काठमाडौं । देशभर अहिले पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्र र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका क्षेत्रमा तापक्रम बढ्ने देखिएको छ। ती क्षेत्रहरूमा तातो दिनको अनुभव हुने र विशेषगरी लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।