कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना, पश्चिम तराईमा तातो लहर कायमै

hitkhabar.com


काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी प्रणाली सक्रिय रहेकाले आज (आइतबार) विभिन्न प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा तातो लहरको अवस्था कायम रहने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी ३–४ दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि यस्तै प्रकृतिको वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई र लुम्बिनी प्रदेशको पश्चिमी तराईका केही स्थानमा तातो लहरको प्रभाव कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया