पहाडमा हिमपात, तराईमा हावाहुरीको जोखिम

hitkhabar.com


काठमाडौं । देशभर आजको मौसममा अस्थिरता कायम रहने भएको छ। पश्चिमी वायु र स्थानीय वायूसँगै पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण अधिकांश प्रदेशमा बदली, वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ।

देशका विभिन्न भू–भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको छ।

कोशी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ, जसले जनजीवन प्रभावित पार्न सक्ने देखिएको छ।

यस्तै, देशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। सम्भावित वर्षा, चट्याङ र हावाहुरीका कारण दैनिक जनजीवन, यातायात तथा कृषि क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया