काठमाडौं । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ। यसका कारण आज विभिन्न प्रदेशमा बदलीसँगै वर्षा, मेघगर्जन र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशसहित अन्य हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना तथा चट्याङसहितको मौसम सक्रिय हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।