काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक व्यक्ति कतारबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका–५ का मो. ताहिर राईन रहेका छन्। सम्बन्धित कसूरमा संलग्न रहेको अनुसन्धानका क्रममा घटना भएपछि फरार रहेका राईनलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजी गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो।
रेड नोटिस जारी भएपछि इन्टरपोल शाखा र एनसीबी दोहा, कतारबीच भएको समन्वयका आधारमा राईनलाई कतारमा पक्राउ गरिएको हो।
पक्राउ परेका राईनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो। विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि आवश्यक कानुनी कारबाहीका लागि राईनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रहरीले जनाएको छ।