केही प्रदेशमा चट्याङसहित वर्षा, तराईमा तातो लहरको चेतावनी

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा मौसममा बदली, वर्षा तथा तातो लहरको मिश्रित प्रभाव देखिने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र तथा अन्य प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई भू–भागमा तातो लहर (हीट वेभ) को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया