संलग्नता फेला परे जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी

hitkhabar.com


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो क्लिपमा कुनै पनि संलग्नता प्रमाणित भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

आज (बिहीबार) मन्त्रालयको एक वर्षे प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि लागेको आरोप नियोजित षड्यन्त्र अन्तर्गत आएको जिकिर गरे । “यहाँहरूले अडियो सुन्नुभएको छ, मेरो आवाज, मैले मागेको कुरा वा कुनै लेनदेनको संकेत पाउनुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु,” मन्त्री अधिकारीले प्रष्ट पारे ।

उनले केही व्यक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन दबाब दिएको र आफूले नमानेपछि नियोजित रूपमा चरित्र हत्या गर्न खोजिएको बताए ।

“केही मान्छे आफ्नो अभिष्ट पूरा गर्न मसँग आए, मैले नमानेपछि यी कुराहरू बाहिर ल्याइएका हुन्,” उनले भने, “मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर मैले कहिल्यै भनेको छैन, उहाँले जानुहुन्छ पनि भनेको छैन । मुद्दा भएपछि फैसलासमेत आएन। अहिले आएर मेरो र मेरो परिवारको नाम जोडेर चरित्र हत्या गर्ने प्रयास भइरहेको छ ।”

उनले अडियोमा आएका शब्द, शैली र व्यक्ति आफू वा आफ्नो नातेदारसँग सम्बन्धित नरहेको दाबी गरे । “अहिलेसम्म अडियोमा भएका कुनै पनि कुरा मेरो स्वर वा बोलीसँग मेल खाँदैन। प्राविधिक रूपमा पनि यो कुरा पुष्टि गर्न सकिन्छ,” मन्त्री अधिकारीको भनाइ छ ।

मन्त्री अधिकारीले सञ्चारकर्मीहरूमार्फत यस्तो भ्रमपूर्ण प्रचारप्रति सतर्क रहन आग्रहसमेत गरे ।

प्रतिक्रिया