काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण आज (बुधबार) देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जनाएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित अन्य हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा आएको यो परिवर्तनले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ। यात्रु तथा पर्वतारोहणमा संलग्न व्यक्तिहरूले पनि मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।