मनसुन सक्रिय: आज पनि देशभर वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। यस्तै, पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङ्गसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान र मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया