काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्ष निकाल्दै जेनजी अगुवाहरूले आन्दोलन पुनर्गठन गर्ने घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा ‘कमन जेनजी नेपाल’ले आयोजना गरेको जेनजी संवाद कार्यक्रममा सहभागी अगुवाहरूले जेनजी आन्दोलनको समीक्षा गर्दै राज्यले युवा पुस्ताका मागलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए । उनीहरूले आगामी भदौ २३ गते सरकारलाई खबरदारी गर्दै ज्ञापनपत्र बुझाउने घोषणा गरेका छन् ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जेनजी आन्दोलनका पीडितलाई न्याय दिलाउन तथा आन्दोलनका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले भदौ २३ गते खबरदारीसहित ज्ञापनपत्र बुझाउन लागिएको बताए ।
उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गर्न सरकार असफल भएको आरोप लगाए ।
साहले जेनजीका हत्यारामाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्दै कारबाही गर्न नसके सरकारलाई पदमा बस्ने अधिकार नरहेको टिप्पणी गरे ।
उनका अनुसार जेनजी आन्दोलन सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण तथा राज्य संरचनामा आमूल परिवर्तनका लागि भएको भए पनि सरकारले ती विषयमा अपेक्षाअनुसार काम गर्न सकेको छैन ।
‘जेनजी आन्दोलनका माग सम्बोधन गर्न सरकारलाई कुन शक्तिले रोकेको छ ? आन्दोलनका क्रममा भएका घटनामा दोषीलाई अझै कारबाही किन गरिएको छैन ?’ भन्दै साहले सरकारप्रति प्रश्न उठाए ।
उनले राज्यप्रति जनताको अविश्वास बढ्दै गएको दाबी गर्दै देशको अस्तित्व, जेनजी आन्दोलनको सम्मान तथा आमूल परिवर्तनका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।
साहले वर्तमान परिस्थितिबाट निकासका लागि जेनजी आन्दोलनलाई पुनर्गठन गरी सरकारलाई खबरदारी गर्न लागिएको बताए । उनले परिवर्तन चाहने युवा, विभिन्न राजनीतिक दल तथा नेता, नागरिक समाज, सक्रिय शक्ति र आम नागरिकलाई आन्दोलनमा साथ दिन आह्वानसमेत गरे ।
उनले सरकारले जेनजी आन्दोलनका माग सम्बोधन नगरे दोस्रो चरणको जेनजी आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
कार्यक्रममा जेनजी अगुवाहरू रवि किरण हमाल, सौरव भण्डारी, कृष्ण मोहन सहनी, दिपेन्द्र विक, अमृत बोहरा, अभिनव वाग्ले, उज्वल शर्मा, रोनिश साहलगायतको सहभागिता रहेको थियो ।
विभिन्न जेनजी संगठनको नेतृत्वमा रहेका अभियन्ताहरूले संयुक्त रूपमा भदौ २३ गते सरकारलाई खबरदारीसहित ज्ञापनपत्र बुझाउने बताएका छन् ।
उनीहरूले आफूहरूको आन्दोलन रहर नभई बाध्यता भएको दाबी गर्दै परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।