एनजिओ र आइएनजिओमाथि निगरानी बढाउनुपर्छ : अध्यक्ष प्रचण्ड

hitkhabar.com


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर क्रियाशील गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूमाथि निगरानी बढाउनुपर्नेमा जोड दिएका छन्।

आज (मंगलबार) पार्टीको समाजकल्याण विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संस्थाहरूले विभिन्न शिर्षकमा लिएको रकम पारदर्शी रूपमा खर्च हुनुपर्नेमा राज्य गम्भीर हुनुपर्ने धारणा राखे। “आफ्नै ढंगले पैसा लिएर दुरुपयोग भइरहेको छ भने त्यसमा सरकार गम्भीर हुनुपर्छ,” उनले स्पष्ट पारे।

उनले अनुदानमा प्राप्त रकम कता–कसरी खर्च भइरहेको छ भन्ने विषयमा पारदर्शिता आवश्यक भएको उल्लेख गर्दै सम्बन्धित निकायहरूले चासो दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको इतिहास मेटाउन विभिन्न शक्ति केन्द्रहरू लागिपरेको आरोप समेत लगाए। “एउटा वर्ग र तप्का न्वारनदेखिको बल लगाएर लागिपरेका छन्,” उनले भने, “माओवादीले गरेका राम्रा कामहरूलाई बदनाम गर्न सक्रिय तत्त्वहरू अझै पनि क्रियाशील छन्।”

उनले माओवादी आन्दोलनले देशमा गरिबी अन्त्य, संघीयता, गणतन्त्र, समावेशिता लगायतका ठूला परिवर्तनहरूमा योगदान दिएको स्मरण गराउँदै तिनलाई स्थापित गर्न सबैले मिलेर प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।

 

प्रतिक्रिया