प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक आज

hitkhabar.com


काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले संवैधानिक परिषद्को बैठक बोलाइएको छ । परिषद् सचिवालयका अनुसार बैठक आज बिहीबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्षको निर्देशनमा बोलाइएको बैठकमा प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहने जनाइएको छ ।

बैठकमा परिषद्का सदस्यहरू सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी हुने कार्यक्रम रहेको छ ।

लामो समयदेखि न्यायपालिकाको नेतृत्व पूर्ण रूपमा चयन हुन नसकेको अवस्थामा बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ । संवैधानिक व्यवस्थाअनुसार परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया