राष्ट्रिय खोप कार्यक्रमलाई निरन्तर सहयोग गर्ने गाभीको प्रतिबद्धता

hitkhabar.com


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा शुक्रबार नेपाल सरकार र गाभी, द भ्याक्सिन एलाइन्स (Gavi, the Vaccine Alliance) बीच उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको प्रतिनिधिमण्डल सहभागी भएको थियो।

बैठकमा नेपाल सरकार र गाभीबीच सन् २०२७–२०३० अवधिको रणनीतिक सहकार्यका विषयमा विस्तृत छलफल भएको हो। सन् २००१ देखि सुरु भएको नेपाल–गाभी सहकार्यले २५ वर्ष पूरा गरेको अवसरमा विगतको सहयोग र आगामी साझेदारीका प्राथमिकताबारे समीक्षा गरिएको बताइएको छ।

बैठकमा गाभीले विगत २५ वर्षमा नेपालमा खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग उपलब्ध गराएको जानकारी दिइयो। हाल नेपाल सरकारले सञ्चालन गर्दै आएका ११ वटा खोपमध्ये गाभीले पाँच वटा खोपमा सह–लगानी गर्दै आएको छ भने एक वटा खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। साथै, परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोप सेवा र विभिन्न खोप अभियान सञ्चालनमा पनि गाभीले निरन्तर सहयोग गर्दै आएको छ।

विश्वव्यापी रूपमा स्वास्थ्य क्षेत्रमा वित्तीय स्रोत घट्दै गएको सन्दर्भमा आगामी अवधिका लागि गाभीद्वारा प्रस्तावित ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप सहायता, १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान तथा नेपाल सरकारले गर्नुपर्ने १ करोड ७१ लाख अमेरिकी डलर बराबरको सह–वित्तीय लगानीबारे पनि बैठकमा गहन छलफल भएको थियो।

बैठकका क्रममा गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले निर्वाह गर्नुभएको नेतृत्वको प्रशंसा गर्दै नेपालले खोप क्षेत्रमा हासिल गरेको उपलब्धिलाई उल्लेखनीय उपलब्धि भएको बताएका थिए। उनीहरूले आगामी दिनमा पनि नेपालसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा मन्त्री मेहताले २५ वर्षदेखि राष्ट्रिय खोप कार्यक्रमलाई सफल बनाउन गाभीले पुर्‍याएको महत्वपूर्ण योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो। साथै, नेपालले गाभीलाई फिर्ता गर्नुपर्ने करिब ३ लाख ८ हजार २७१ अमेरिकी डलर बराबरको रकम फिर्ता नगर्ने हालैको निर्णयप्रति आभार व्यक्त गर्दै राष्ट्रिय खोप कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्न आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो।


प्रतिक्रिया