चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई क्यानको निर्देशन

hitkhabar.com


काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी आन्तरिक हवाई भाडा बढाइएको गुनासो आएपछि सरकारले हवाई भाडा व्यवस्थापनबारे छलफल गरेको छ।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो।

छलफलका क्रममा क्यान र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने/गराउने सहमति भएको छ। साथै, यात्रुले सहज रूपमा जानकारी पाउने गरी उक्त भाडादर सम्बन्धित वायुसेवा कम्पनीका बिक्री तथा वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने सहमति समेत भएको छ।

क्यानका अनुसार आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर यसअघि नै निर्धारण गरिएको छ। २०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको भाडादर निर्धारण गरिएको थियो।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले सोही अवसरमा हवाई भाडा अस्वाभाविक रूपमा वृद्धि हुन नदिन तथा यात्रुलाई सहज र सुलभ हवाई सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो पहल गरिएको हो।


प्रतिक्रिया