काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीसम्म छिटो पुगेर प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवालाई बाइक एम्बुलेन्स हस्तान्तरण गर्दै काठमाडौं प्लाजाबाट सेवा सुरु गरेको हो। सेवा प्रारम्भ कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल सहभागी हुनुभएको थियो।
कार्यवाहक प्रमुख डंगोलका अनुसार सडकमा हुने ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै घटनास्थलमा पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर बाइक एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो।
‘एम्बुलेन्स भन्नेबित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारीसाधन भन्ने बुझिन्छ। तर, हामीले जोखिममा रहेका बिरामी भएको ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मी पुर्याउन यो सेवा थालेका हौँ,’ डंगोलले भन्नुभयो।
उहाँका अनुसार आपत्कालीन अवस्थामा बिरामी भएको स्थानमा स्वास्थ्यकर्मी छिटो पुर्याउन सके जीवन बचाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एम्बुलेन्स पुग्नुअघि नै बिरामीलाई प्राथमिक उपचार
बाइक एम्बुलेन्समा खटिने इमर्जेन्सी मेडिकल टिम (ईएमटी) ले बिरामी भएको स्थानमा पुगेर प्रारम्भिक स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार गर्नेछ। साथै, बिरामीको अवस्था थप बिग्रिन नदिन आवश्यक उपचार उपलब्ध गराउने जिम्मेवारी पनि टोलीको हुनेछ।
बाइक एम्बुलेन्सको टोली घटनास्थलमा पुगेर उपचार सुरु गरेपछि चारपाङ्ग्रे एम्बुलेन्स आइपुग्ने र त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल पुर्याइने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ।
विशेषगरी ट्राफिक जामका कारण एम्बुलेन्स पुग्न ढिलाइ हुने अवस्थामा बाइक एम्बुलेन्सले स्वास्थ्यकर्मीलाई छिटो घटनास्थलसम्म पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
आकस्मिक अवस्थामा जीवन बचाउन सहयोग पुग्ने अपेक्षा
गम्भीर बिरामी वा दुर्घटनामा परेका व्यक्तिलाई समयमै प्राथमिक उपचार उपलब्ध गराउनु महत्त्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी घटनास्थलमा छिटो पुग्न सके बिरामीको अवस्था नियन्त्रणमा राख्न र थप उपचारको तयारी गर्न सहज हुन सक्छ।
काठमाडौं महानगरपालिकाले सुरु गरेको बाइक एम्बुलेन्स सेवाले सहरी क्षेत्रमा ट्राफिक जामका कारण उत्पन्न हुने स्वास्थ्य आपत्कालीन चुनौती न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।