काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने बताएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई दिँदै क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको बताएका हुन् ।
उनका अनुसार आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिनेछन् । ती रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिनेछ ।
प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने बताएका छन् ।
क्लबअनुसार निर्माण गरिने क्रिकेट रंगशालाको विवरण यस्तो छ :
१. विराटनगर किंग्स – बैजनाथपुर क्रिकेट रंगशाला
२. लुम्बिनी लायन्स – सिद्धार्थ क्रिकेट रंगशाला
३. कर्णाली याक्स – सुर्खेत क्रिकेट रंगशाला
४. सुदूरपश्चिम रोयल्स – फाप्ला क्रिकेट रंगशाला
५. काठमाडौं गुर्खाज – कीर्तिपुर क्रिकेट मैदान
६. पोखरा एभेन्जर्स – पोखरा क्रिकेट रंगशाला
७. जनकपुर बोल्ट्स – रामजानकी क्रिकेट रंगशाला
८. चितवन राइनोज – गौतमबुद्ध क्रिकेट रंगशाला
आठवटै क्लबका आफ्नै क्रिकेट रंगशाला निर्माण भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसबाट नेपाली क्रिकेटको व्यावसायिक विकास र पूर्वाधार विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।