काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीहरू राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवामा समर्पित हुनुपर्ने बताएका छन् ।
उनले सरकारमा आएदेखि नै राष्ट्रसेवक कर्मचारीको जिम्मेवारी देश र जनताको सेवा गर्नु रहेको विषय स्पष्ट पार्दै आएको बताएका छन् ।
गुरुङले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उल्लेख गरेका छन् । पटकपटक स्पष्ट पार्दा पनि राजनीतिक दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्यस्तो भ्रम त्याग्न उनले चेतावनी दिएका छन् ।
आफ्नो पदीय जिम्मेवारी बिर्सिएर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनले स्पष्ट पारेका छन् । यस विषयमा कुनै सम्झौता नहुने उनको भनाइ छ ।
‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ उनले भनेका छन् ।