आज केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

hitkhabar.com


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भू-भाग नजिक रहेकाले आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा, सडक यात्री तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया