आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

hitkhabar.com

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। कोशी प्रदेशको तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मौसमविद्ले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया