काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था तथा विभिन्न तहबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै महाधिवेशनअन्तर्गतका निर्वाचन कार्यक्रमको मिति हेरफेर गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका अनुसार यसअघि असोज १६ देखि १९ गतेसम्म गर्ने भनिएको १५औँ महाधिवेशनको कार्यक्रमलाई निरन्तरता दिँदै तल्ला तहका अधिवेशनको नयाँ समयतालिका तय गरिएको छ।
नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ गते शनिबार र ४ गते आइतबार हुनेछ। स्थानीय अनुकूलताअनुसार अधिवेशन सम्पन्न गरिने समितिले जनाएको छ। देशभरका ६ हजार ७४३ वडामा वडा अधिवेशनसँगै वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
त्यसपछि गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते बुधबार हुनेछ। त्यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिबार गर्ने निर्णय गरिएको छ।
सबैभन्दा महत्वपूर्ण केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते आयोजना हुने कार्यतालिकामा उल्लेख छ।
समितिले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षति तथा त्यसबाट रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा परेको प्रभावलाई समेत ध्यानमा राखेको जनाएको छ।
बाढी प्रभावित जिल्लामा स्थानीय तहसँग समन्वय गरी निर्वाचन अधिकारी तथा पार्टीका स्थानीय तहका संरचनामार्फत अधिवेशन सम्पन्न गर्ने व्यवस्था मिलाइने समितिले जनाएको छ।
यसैगरी, नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने बताइएको छ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन कांग्रेसका सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।