काठमाडौं । नेपाल र स्विट्जरल्यान्डबीच संसदीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने विषयमा छलफल भएको छ।
नेपाल–स्विट्जरल्यान्ड संसदीय मैत्री समूहका संयोजकको रूपमा आज स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको नेतृत्वमा आएको स्विस संसदीय प्रतिनिधिमण्डलसँग अन्तर्क्रियात्मक बैठक भएको हो।
नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ मनाइरहेका बेला भएको उक्त बैठकमा दुई देशबीचको ऐतिहासिक मित्रतालाई थप मजबुत बनाउने तथा भविष्यमा सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो।
बैठकमा जलवायु परिवर्तनले हिमाली राष्ट्रमा पार्ने प्रभाव, शासन तथा सुशासन, संसदीय आर्थिक कूटनीति, व्यावसायिक शिक्षा र युवा रोजगारीका क्षेत्रमा ठोस सहकार्य अघि बढाउनुपर्ने विषयमा अन्तरक्रिया भएको थियो।
त्यसैगरी, दुई देशका संसदबीच संस्थागत सम्बन्ध विस्तार, नियमित संवाद तथा अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।
यसक्रममा स्विस प्रतिनिधिमण्डलले स्विट्जरल्यान्डको संसदमा पनि नेपालसँगको संसदीय मैत्री सञ्जाल स्थापना गर्ने जानकारी दिएको छ।
बैठकमा नेपाल र स्विट्जरल्यान्डबीचको मित्रता औपचारिक कूटनीतिक सम्बन्धमा मात्र सीमित नराखी दुवै देशका नागरिकको हितमा ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने साझा धारणा व्यक्त गरिएको थियो।