किसानलाई पर्याप्त मल दिन अझै सकिने अवस्था छैन : कृषि मन्त्री अधिकारी

hitkhabar.com


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट अनुसार ९८ प्रतिशत रासायनिक मल आयात भए पनि किसानलाई पर्याप्त मल उपलब्ध गराउन अझै सकिने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित ‘प्रथम राष्ट्रिय कोदो दिवस’ को अवसरमा बोल्दै मन्त्री अधिकारीले विगत १० वर्षको तुलनामा हालको मल आपूर्तिको अवस्था केही सन्तोषजनक भए पनि आवश्यकताको तुलनामा अझै कमी रहेको बताएका हुन् ।

उनले भने, “नेपाल सरकारले छुट्याएको बजेट पर्याप्त छैन, तर यस पटक ९८ प्रतिशत रासायनिक मल आयात भएको देखिन्छ । विगत १० वर्षलाई हेर्दा यत्तिको क्रियाशीलता कतै भएको थिएन ।”

मन्त्री अधिकारीले कृषिमा केही सुधार ल्याउन सके मात्र सकारात्मक अनुभूति हुने धारणा पनि व्यक्त गरे । "यो गर्छु, त्यो गर्छु भन्दा पनि हामीले कृषिमा केही परिवर्तन गर्न सक्यौं भनेमात्र राम्रो गरेको आभास हुन्छ, होइन भने त्यो पनि हुँदैन," उनले स्पष्ट पारे ।

उनले रासायनिक मल सबै बालीमा आवश्यक नपर्ने भन्दै कोदो उत्पादनमा यसको प्रयोग नगरे पनि हुने बताए । साथै, कोदो स्वास्थ्यका लागि लाभदायक रहेको उल्लेख गर्दै नागरिकलाई कोदोजन्य परिकार खान सुझाव दिए ।

“दुई छाक भात खानु भनेको रोग निम्त्याउनु हो,” मन्त्री अधिकारीले भने, “अब कोदो लगायतका परिकारको प्रवर्द्धन गरेर स्वस्थ जीवनशैलीतर्फ लाग्नुपर्छ ।”

सरकारले मल आपूर्तिमा देखिएको सक्रियता भविष्यमा थप सुधारतर्फ जाने विश्वास व्यक्त गर्दै मन्त्री अधिकारीले किसानलाई मल, बीउ र प्रविधिमा सहजीकरण गर्नेतर्फ योजना बनाइरहेको जानकारी दिए ।

प्रतिक्रिया