काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चर्चित भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आज (सोमबार) पुनः प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद दीपक बहादुर सिंहले सरकारले गम्भीर विषयमा आँखामुनि पट्टि बाँधेको आरोप लगाए । उनले सहकारी ठगीदेखि निजामति विधेयकको कुलिङ पिरियडसम्मका विषयमा संसदीय समिति बनेको स्मरण गराउँदै, भिजिट भिसा काण्डमा पनि यथाशीघ्र छानबिन समिति आवश्यक भएको स्पष्ट पारे ।
‘प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म संलग्न भएको भिजिट भिसा काण्डको दुर्गन्ध संसारभर फैलिएको छ, तर किन समिति बनेन रु’ सांसद सिंहले प्रश्न गरे, ‘यो विषय हल्का होइन, सरकारले यसको गम्भीरता बुझ्न जरुरी छ ।’
उनले दुई तिहाईको बहुमतको दम्भमा सदनलाई एकतर्फी ढंगले सञ्चालन गरिएको आरोपसमेत लगाए । सिंहले संसद अवरुद्ध भएको ४१ दिनभन्दा बढी समय भइसकेको भन्दै लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न सरकारलाई आग्रह गरे ।
राप्रपाले निरन्तर सदन बहिष्कार गर्दै आएको छ । पार्टीले भिजिट भिसा प्रकरणमा संलग्न उच्च तहका अधिकारीहरूलाई कारबाही गर्न माग गर्दै संसदीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभामा सहभागी नहुने अडान दोहोर्याउँदै आएको छ ।