काठमाडौं । हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू तथा देशको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।