काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल बैंकिङ क्षेत्रमा तीन नयाँ सेवा सार्वजनिक गरेको छ।
बैंकले गरिमा प्रिपेड डलर कार्ड (Garima Prepaid Dollar Card), गरिमा POS टर्मिनल (Garima POS Terminals) तथा गरिमा इन्टरबैंक QR टेलर (Garima Interbank QR Teller) सेवाको औपचारिक शुभारम्भ गरेको हो।
बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्ड मार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा विभिन्न ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सकिनेछ। यस सेवाले विदेशस्थित डिजिटल सेवाको भुक्तानीलाई थप सहज बनाउने विश्वास बैंकले लिएको छ।
त्यस्तै, गरिमा POS टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट सुरक्षित, छिटो तथा भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन्। बैंकका अनुसार यस सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै व्यापारिक कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
यसैगरी, गरिमा इन्टरबैंक QR टेलर सेवाबाट फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत QR स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आएको गरिमा विकास बैंकले आगामी दिनमा पनि सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै नवीनतम प्रविधिमा आधारित सेवाहरू ग्राहकसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ।
ISO 9001:2015 र ISO 27001:2022 प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत करिब ९ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।