काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई आज अपराह्न स्वदेश फर्किँदै छन्।
राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। उनले गरिबी निवारण, उत्पादनशील रोजगारी र सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरणजस्ता विषयमा नेपालको अनुभव र प्रतिबद्धता प्रस्तुत गरेका थिए।
त्यस क्रममा उनले सामाजिक विकासका तीन स्तम्भ—गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सामाजिक समावेशीकरण—विषयक उच्चस्तरीय गोलमेच बैठकमा समेत सम्बोधन गरेका थिए।
सम्मेलनमा विभिन्न मुलुकका राष्ट्रप्रमुख, मन्त्री, विज्ञ तथा नीति–निर्माताहरूको सहभागिता रहेको थियो। राष्ट्रपति पौडेलको भ्रमणले सामाजिक विकास र अन्तर्राष्ट्रिय सहकार्यमा नेपालको भूमिकालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।