निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : प्रचण्ड

hitkhabar.com


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

बिहीबार सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र मुलुकलाई थप अस्थिरताबाट जोगाउन चुनाव ढिलो गर्नु नहुने बताए।

प्रचण्डले भने, “देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन्। अन्तरिम सरकारलाई असफल बनाउने प्रयास भइसकेको छ। चुनाव हुन नदिन र मुलुकलाई अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुनसक्छ। त्यसैले हामी घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौं।”

उनले आफ्नो सम्बोधनमा अतीतका कमजोरीहरूलाई स्वीकार गर्दै पार्टी र नेतृत्व दुवैलाई सच्याउने प्रक्रियामा रहेको बताए। सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेको दाबी गर्दै उनले भने, जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गरेका छन्।

प्रचण्डले नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भएको पनि खुलासा गरे। उनका अनुसार गलत नीति वा विचार नभई व्यवहारमा कमजोरी देखिएको हो।

उनले थपे, “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य हो।”

प्रतिक्रिया