काठमाडौं । सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै औषधि उत्पादनको गुणस्तर सुधार गर्ने विषयमा सरकारका दुई मन्त्रीबीच छलफल भएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबीच वैद्यखानाको स्तरोन्नति तथा औषधि उत्पादन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने विषयमा छलफल भएको हो।
छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, उत्पादित औषधिको गुणस्तर अभिवृद्धि र औषधि निर्यातको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा विचारविमर्श भएको जनाइएको छ।
त्यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेका मापदण्डअनुसार वैद्यखानाको स्तरोन्नति गरी औषधि उत्पादन प्रक्रियालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।
वैद्यखानाको समग्र विकासका लागि दुवै मन्त्रालयबीच आवश्यक समन्वय र सहकार्य अघि बढाउने तथा त्यसलाई प्रभावकारी बनाउन समझदारीपत्र (एमओयू) गर्ने विषयमा समेत कुराकानी भएको छ।
यस पहलले सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता र गुणस्तर सुधार गर्नुका साथै नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सम्भावनालाई समेत बल पुग्ने अपेक्षा गरिएको छ।