प्रधानमन्त्री शाह आज न्युयोर्क प्रस्थान गर्दै

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन् । महासभामा सहभागी हुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह न्युयोर्क जान लागेका हुन् ।

प्रधानमन्त्री शाह आज अपराह्न ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन् । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया