काठमाडौं । देशभर अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय प्रणाली भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास केन्द्रित रहेको छ।
महाशाखाका अनुसार उक्त मौसम प्रणाली सुरुमा बलियो न्यूनचापीय क्षेत्रकै अवस्थामा उत्तरपश्चिमतर्फ अघि बढ्ने सम्भावना छ। त्यसपछि आगामी २४ घण्टामा प्रणाली उत्तर–उत्तरपश्चिम दिशातर्फ सर्दै क्रमशः कमजोर हुने अनुमान गरिएको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश आकाशमा बादल लागेको छ। सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
राति कहाँ-कहाँ वर्षाको सम्भावना ?
रातिको समयमा देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ।
मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
केही स्थानमा भारी वर्षाको चेतावनी
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हावाहुरी चल्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।