काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको कार्यतालिकामा मौसमको अवस्थाअनुसार आवश्यक समायोजन गर्न निर्देशन दिइएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ। त्यसअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशनहरू विभिन्न स्थानमा जारी रहेका छन्।
हालसम्म ६६ जिल्लाका ६३० पालिकामा गाउँ तथा नगर अधिवेशनअन्तर्गत निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ।
तर पछिल्लो समय विभिन्न क्षेत्रमा भइरहेको भारी वर्षाका कारण अधिवेशनका गतिविधि सञ्चालनमा कठिनाइ भएको निर्वाचन अधिकृतहरूबाट जानकारी आएको पार्टीले जनाएको छ।
मौसम विभागलगायत सम्बन्धित निकायले आगामी केही दिनसमेत वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरेका कारण अधिवेशनका आगामी कार्यक्रम सञ्चालन गर्दा स्थानीय मौसमको अवस्थालाई समेत ध्यान दिन कांग्रेसले आग्रह गरेको छ।
यसअघि असोज १० गतेका लागि निर्धारण गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम मौसम अनुकूल रहेका क्षेत्रमा तोकिएकै मितिमा सञ्चालन गर्न निर्देशन दिइएको छ।
त्यस्तै, मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी स्थानीय परिस्थिति अनुकूल हुने गरी कार्यक्रम सञ्चालन गर्न भनिएको छ।
कांग्रेसले प्रतिकूल मौसमका कारण तोकिएको मितिमा अधिवेशन गर्न नसकिने अवस्था भए पनि त्यस्ता क्षेत्रमा असोज १३ गतेभित्र निर्वाचन प्रक्रिया सम्पन्न हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
यससँगै १५औँ महाधिवेशनअन्तर्गतका बाँकी अधिवेशनहरू स्थानीय अवस्था र मौसमको अनुकूलता हेरेर व्यवस्थित रूपमा अघि बढाउने तयारी कांग्रेसले गरेको छ।