काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै काग तिहारले हाम्रो मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई स्मरण गराउने उल्लेख गर्नुभएको छ।
उहाँले कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने परम्पराको चर्चा गर्नुभएको छ। आधुनिक सञ्चारको विकास हुनुअघि काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिने गरेको उहाँको भनाइ छ।
त्यस्तै, यमयातनाबाट मुक्तिको कामनासहित परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यमराजलाई डरको प्रतीक मात्र नभई न्यायको प्रतीकका रूपमा पनि बुझ्ने गरिएको बताउनुभएको छ।
धन्वन्तरी जयन्तीका अवसरमा भगवान् धन्वन्तरीको स्मरण गर्दै उहाँले सबैको निरोगी जीवनको कामना गर्नुभएको छ। समुद्र मन्थनबाट अमृत कलश लिएर प्रकट हुनुभएका भगवान् धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवताका रूपमा स्मरण गरिएको उहाँले उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री शाहले भोलि मनाइने कुकुर तिहारको सन्दर्भमा कुकुरलाई मानव सभ्यताको विश्वासिलो र वफादार साथीका रूपमा चित्रण गर्नुभएको छ। घरको सुरक्षादेखि अनुसन्धान तथा उद्धार कार्यसम्म मानिसलाई सहयोग गर्ने कुकुरप्रतिको प्रेम र कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा यस पर्वलाई लिनुपर्ने उहाँको भनाइ छ।
पशुपन्छीप्रतिको आत्मीयता, सहअस्तित्व र सद्भावलाई हाम्रा चाडपर्वको सुन्दर पक्षका रूपमा उल्लेख गर्दै उहाँले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले प्रदान गरून् भन्ने कामना गर्नुभएको छ।
प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति!’ भन्नुभएको छ।