काठमाडौं । आईसीटी फाउन्डेसन नेपाल (IFN) ले Google LLC र Merojob Limited सँगको सहकार्यमा ‘गुगल करियर प्रमाणपत्र छात्रवृत्ति कार्यक्रम २०२६’ का लागि आवेदन खुला गरेको छ।
सूचना प्रविधि तथा डिजिटल क्षेत्रमा सीप विकास गर्न चाहने नेपाली युवालाई लक्षित गर्दै ल्याइएको यस कार्यक्रमअन्तर्गत देशभरबाट ५०० जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। कार्यक्रममा सहभागी हुन पूर्वअनुभव आवश्यक नपर्ने जनाइएको छ।
आधिकारिक एनपीओ साझेदारका रूपमा सञ्चालन भइरहेको यस कार्यक्रममार्फत सहभागीहरूले Coursera मार्फत उपलब्ध गराइने गुगलद्वारा डिजाइन गरिएका व्यावसायिक तालिममा पहुँच पाउनेछन्। कार्यक्रम कार्यान्वयनमा आईसीटी फाउन्डेसन नेपाल र मेरो जब लिमिटेडले स्थानीय समन्वय तथा सहजीकरण गर्नेछन्।
आयोजकका अनुसार कार्यक्रमले सहभागीलाई मार्गनिर्देशित, लचिलो र करियरमुखी सिकाइ अवसर प्रदान गर्नेछ। यसबाट विद्यार्थी, नयाँ स्नातक, कार्यरत पेशेवर, महिला, विपन्न तथा पिछडिएका समुदायका व्यक्तिहरू र करियर परिवर्तन गर्न चाहनेहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
कार्यक्रमअन्तर्गत साइबर सुरक्षा, डाटा एनालिटिक्स, डिजिटल मार्केटिङ तथा ई–कमर्स, आईटी सपोर्ट, परियोजना व्यवस्थापन, यूएक्स डिजाइन, आईटी अटोमेसन विथ पाइथन, एडभान्स्ड डाटा एनालिटिक्स, बिजनेस इन्टेलिजेन्स, एआई इन्स्टलेस, प्रम्प्टिङ इन्स्टलेस र एआई प्रोफेशनल सर्टिफिकेटलगायतका पाठ्यक्रमहरू समावेश छन्। प्रत्येक कोर्स पूरा गर्न ३ देखि ६ महिनासम्म समय लाग्नेछ र अनबोर्डिङपछि ६ महिनाभित्र सक्नुपर्ने व्यवस्था छ।
सिक्नेहरूले एक वा एकभन्दा बढी पाठ्यक्रम छनोट गर्न सक्ने भए पनि त्यसलाई सफलतापूर्वक पूरा गर्न आवश्यक समय, प्रतिबद्धता र निरन्तरता अनिवार्य हुने बताइएको छ। साथै, ६० दिन वा सोभन्दा बढी समय निष्क्रिय रहने सहभागीको छात्रवृत्ति रद्द गरी अन्य योग्य उम्मेदवारलाई प्रदान गर्न सकिनेछ। कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न मासिक प्रगति अनुगमन गरिनेछ र सहभागीहरूले कम्तीमा ७० प्रतिशत पाठ्यक्रम पूरा गर्नुपर्नेछ।
आवेदन प्रक्रिया २२ अप्रिल २०२६ देखि सुरु भइसकेको छ भने अन्तिम मिति ३१ मे २०२६ तोकिएको छ। इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन आयोजकले आग्रह गरेको छ।
आवेदनका लागि : https://pages.merojob.com/google-career-certificate-program-ifn/