काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराईका भू–भागमा साधारणतया बादल लाग्ने जनाइएको छ ।
महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ ।
त्यसैगरी, बागमती, मधेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
मौसममा आएको यस परिवर्तनका कारण चिसो बढ्नुका साथै दैनिक जनजीवन, सडक यातायात र हवाई सेवामा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।