वैशाख १७ का लागि बोलाइएको संसद् अधिवेशन स्थगित

hitkhabar.com


काठमाडौं । वैशाख १७ गतेका लागि तय गरिएको संघीय संसद्को अधिवेशन स्थगित गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस पठाएपछि उक्त निर्णय कार्यान्वयनमा आएको हो।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्को सिफारिस प्राप्त भएसँगै अधिवेशन स्थगन गर्ने औपचारिक निर्णय गरिएको हो। यसअघि भने राष्ट्रपतिबाट वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान भइसकेको थियो।

सरकारले अधिवेशन स्थगनको निर्णय लिए पनि त्यसको स्पष्ट कारण सार्वजनिक गरेको छैन। औपचारिक रूपमा ‘विशेष कारण’ उल्लेख गरिए पनि के कारणले यस्तो निर्णय लिनुपर्‍यो भन्नेबारे खुलाइएको छैन।

राजनीतिक वृत्तमा भने अधिवेशन स्थगनको निर्णयलाई विभिन्न कोणबाट हेरिएको छ। कतिपयले यसलाई सरकारको तयारी नपुगेको संकेतका रूपमा व्याख्या गरेका छन् भने केहीले समसामयिक राजनीतिक परिस्थितिसँग जोडेर विश्लेषण गरेका छन्। यद्यपि, आधिकारिक धारणा भने अझै अस्पष्ट नै छ।

प्रतिक्रिया