काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण आज देशका विभिन्न भू-भागमा मिश्रित मौसम देखिने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा पनि वर्षा तथा उच्च स्थानमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको तराईका केही स्थानमा समेत हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
यता, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा भने तापक्रम बढ्ने र दिन तातो हुने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हीटवेभ) को जोखिम समेत देखिएको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन तथा तातो बढ्ने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।