यी हुन् मन्त्रिपरिषद् बैठकका तीन महत्वपूर्ण निर्णय

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बैठकले विभिन्न तीन महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंक बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा आवश्यक कागजातलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, यसअघि २०७५ भदौ १ मा भएको निर्णयअनुसार महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको करिब ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने व्यवस्था गरिएकोमा सो निर्णय सच्याउँदै उक्त जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै प्रयोगमा रहने व्यवस्था गर्ने निर्णय गरिएको छ।

यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयको अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अतिक्रमित सुकुमबासी बस्ती खाली गराउने विषयमा भने बैठकमा कुनै छलफल भएको छैन।

प्रतिक्रिया