काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीको उद्यमशीलता विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा उनीहरूले उत्पादन गरेका वस्तुको बजार विस्तारका लागि सरकार आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीले भोग्दै आएका व्यवधान हटाउँदै स्वदेशी उत्पादनलाई पर्यटकीय गन्तव्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने वातावरण निर्माणमा सरकार सक्रिय रहेको जानकारी गराउनुभयो।
छलफलका क्रममा महिला उद्यमी महासंघ नेपालले ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डको प्रवर्द्धन, अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारी सहकार्य, सार्वजनिक खरिदमा महिला उद्यमीलाई प्राथमिकता, वित्तीय पहुँच विस्तार तथा नीति निर्माण तहमा महासंघको सहभागितालगायत विषयमा आफ्ना सुझाव प्रस्तुत गरेको थियो।
प्रधानमन्त्री शाहले महासंघबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।