काठमाडौं । पोखरा जग्गा घुस प्रकरणमा मुछिएका एमालेका दुईमध्ये एक मन्त्री अझै पदमा कायम रहेको अवस्थामा भूमि सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न खोजिएको भन्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन्।
उनले एमालेको उक्त प्रस्तावले गम्भीर शंका उत्पन्न गराएको भन्दै यसलाई दुई फरक घटना भन्न नमिल्ने तर्क गरेका छन्। “नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन,” डा. कोइरालाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
डा. कोइरालाले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी तथा विचौलियामाथि निष्पक्ष छानबिनको माग गर्दै भूमि विधेयकमा संसदीय समितिमा गहन छलफल गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार, जबसम्म प्रकरणमा संलग्नहरूमाथि सत्यतथ्य सार्वजनिक हुँदैन र विधेयकमा समुचित छलफल हुँदैन, तबसम्म जनताले सरकारप्रतिको विश्वास पुनःस्थापना गर्न सक्ने अवस्था आउँदैन।