काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसमको अवस्था मिश्रित रहनेछ।
महाशाखाका अनुसार दिउँसो हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यता मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा तापक्रम बढ्ने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर (हीट वेभ) चल्ने संकेत देखिएको महाशाखाले जनाएको छ।
गर्मी बढ्ने तथा केही स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।